काठमाडौँका विभिन्न ठाउँ डुबानमा
काठमाडौँका विभिन्न ठाउँ डुबानमा
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण वाग्मतीसहित उपत्यकाका विभिन्न नदीहरूमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीले खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सोमबार बिहान ५ बजे वाग्मतीको जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।नदीतटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सोमबार दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै उपत्यका भई बहने साना नदीहरूमा पनि जलसतह बढेको र त्यसले नदीकिनारमा रहेका बस्तीहरू डुबानमा परेको छ ।
धोबीखोलामा आएको बाढीले अनामनगर, मैतीदेवीलगायतका बस्तीहरू डुबानमा परेको छ । त्यस्तै मनोहराको बाढी पनि बस्तीमा पसेको छ ।
त्यसैगरी चितवन जिल्लाको माडी क्षेत्रको छर्छरे,कल्याणपुर,बनकट्टा,गोविन्दबस्ती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको र सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने महाशाखाको अनुमान छ ।
त्यस्तै बाँके जिल्लाको धकेरीलगायत आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षामापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भएर बहने साना नदीमा एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ |
No comments