ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित हुनुको एस्तो छ कारण
ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित हुनुको एस्तो छ कारण
नेपाली समय अनुसार सोमबार विहान ब्राजिल र अर्जेन्टिनाबीच फुटबल खेल हुने तय थियो । सन् २०२२ विश्वकप छनोट अन्तर्गतको यो खेल अन्तिम समयमा आएर स्थगित भयो । त्यसको कारण हो कोरोना भाइरस महामारी र यसको सावधानीका लागि बनाइएका नियम ।
ब्राजिलले अर्जेन्टिनाका चार खेलाडीले आफ्नो देशको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका कारण खेलमा सहभागी हुन नदिने निर्णय गर्यो । तर अर्जेन्टिनाले भने ती चार जना खेलाडीविना खेलमा सहभागी नहुने बताएपछि खेल स्थगित हुन पुगेको हो ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुका अनुसार गोलकिपर एमिलियानो मार्टिनेजसंगै जिओभानी लो सेल्सो, क्रिस्टियन रोमेरो र एमिलियानो बुएन्डियाले स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेका थिए ।
इंगल्याण्डमा लिग खेल्ने उनीहरु ब्राजिल आउँदा झुक्याएर इन्ट्री फर्म भरेको ब्राजिलका अधिकारीहरुको भनाइ छ । ब्राजिलले १४ दिनयता इंगल्याण्डमा रहेका व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
अर्जेन्टिनी फुटबल एशोसिएसनले उक्त घटनालाई दुर्भाग्य भनेको छ । ‘आजको घटना फुटबलका लागि दुर्भाग्य हो, यसले धेरै नराम्रो गरेको छ । चार खेलाडी ड्रेसिङ रुममा गइसकेपछि खेल स्थगित हुनु दुखद हो’ विज्ञप्तिमा भनिएको छ ।
No comments