क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ
नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आइतबारका लागि तोकिएको छ । यसअघि मुद्दाको सुनुवाइ वास्तविक सुनुवाइ नगरी तीनपटक स्थगित भएको थियो भने एउटा सुनुवाइमा दुवै पक्षले आ–आफ्ना तर्क गरेका थिए । लामिछानेका वकिलहरू पनि आज सुनुवाइ हुनेमा आशावादी छैनन् ।
यसअघि फागुन १५ गते सर्वोच्च अदालतले सन्दीप लामिछानेविरुद्धको मुद्दालाई फास्ट ट्रयाकमा लैजान जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको थियो ।
लामिछानेको मुद्दा निष्कर्षमा नपुगेकाले उनको व्यावसायिक क्रिकेट जीवन कष्टकर बनेको छ । विश्वका धेरैजसो अन्तर्राष्ट्रिय फ्रेन्चाइजीमा खेल्न नपाउँदा आर्थिक नोक्सानी बेहोरेको उनका समर्थकहरुले बताएका छन् । सोही मुद्दाका कारण लामिछाने ९९ दिन केन्द्रीय कारागारमा बसेका थिए । जेलमा रहँदा उनले राष्ट्रिय टोलीबाट चार खेल खेल्न पाएनन् ।
नेपालले जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दैछ। लामिछानेको मुद्दा यो खेलअघि नै टुंगोमा पुगे राम्रो हुने उनका समर्थक बताउँछन्।
No comments