भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने काम सुरु, दुई वर्षभित्र निर्माण सम्पन्न हुने
भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने काम सुरु, दुई वर्षभित्र निर्माण सम्पन्न हुने
भरतपुर महानगरपालिकामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्दैछ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार आयोजनाको शिलान्यास गरेका हुन् । आयोजनाको उद्घाटन गर्दै अध्यक्ष दाहालले वितरण प्रणालीलाई सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले भूमिगत प्रणालीलाई भरतपुरमा मात्र नभई सिंगो चितवन जिल्लामा विस्तार गर्नुपर्ने तर्क गर्नुभयो । उनले भरतपुरले देशलाई विकासको नमुना देखाउने अवस्थामा पुगेको बताए ।
वितरण प्रणालीलाई सुदृढ र स्वचालित बनाउने उद्देश्यले तारहरू भूमिगत गर्न लागिएको आयोजनाका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
सरकारले मुख्य सहर काठमाडौं, पोखरा र भरतपुरका विद्युतीय तार भूमिगत गर्न बजेट विनियोजन गरेको छ । यो काम काठमाडौं र पोखरामा सुरु भइसकेको छ । भरतपुरमा पहिलो चरणमा निर्माणाधीन ६ लेन सडक, बाइपास सडक र अन्प्तरीदेखि पुल्चोकसम्मको काम सुरु भएको छ ।
आयोजना प्रमुख झाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकको दुबै छेउमा विद्युतीय तारहरू भूमिगत गरिनेछ । विद्युतीय तार भूमिगत गर्ने काम पनि सडक निर्माणसँग सम्बन्धित भएकाले सम्बन्धित सडक विभागसँग समन्वय गरेर काम गर्ने उनले बताए । भरतपुर महानगरपालिकाको कार्यालय अगाडि पहिलो चरणको काम सुरु भएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा भारतको बहुराष्ट्रिय कम्पनी टाटाले दुई वर्षभित्र काम सम्पन्न गर्ने ठेक्का पाएको हो । यो आयोजनाको बजेट २ अर्ब ५९ करोड रहेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जीवन सुरक्षाको दृष्टिकोणले भूमिगत केबल निकै उपयोगी रहेको बताए । यसबाट भूमिगत प्रविधिबाट सुदृढीकरण गरी गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युत सेवा प्रदान गरी सौन्दर्यता बढाउने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सर्वसाधारणमा निर्धारित समयमा काम नगर्ने बानी परेकाले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरिन् ।
No comments