Breaking News

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फूटबल खेल आज हुदै

 नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फूटबल खेल आज हुदै 





साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् |

नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो ।

पहिलो खेलअघि प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भए पनि जितकै लागि खेल्ने बताएका थिए । तर पहिलो खेल बराबरी भएपछि उनले नेपाली समर्थकसँग माफी माग्दै अझै सुधार गर्नुपर्ने बताए । भारतीय प्रशिक्षक इगोर स्टिमाकले भने भारत अझै २-३ गोलको हकदार भएको बताएका थिए ।

पहिलो खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले पूर्व कप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए । भारतविरुद्धको दोस्रो खेलमा मैदान उत्रिएपछि किरण विराजलाई पछि पार्दै नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनको नाममा ७४ क्याप हुनेछ ।

यस्तै पहिलो खेलमा युवा मिडफिल्डर नितिन थापाले डेब्यु गर्ने अवसर पाएका थिए । यस्तै १८ वर्षीय आयुष घलानले पनि पहिलो पटक पहिलो रोजाइमा खेलेका थिए । दोस्रो खेलमा अबदुल्लाहले कस्तो रणनीतिमा खेलाउँछन् हेर्न बाँकी छ । नेपाली टिममा रहेका मध्ये गोलकिपर विशाल श्रेष्ठ र दीप कार्की अनि डिफेण्डर राजन गुरुङले डेब्यु गर्न बाँकी छ ।

नेपाल र भारतबीच दोस्रो खेल आईतबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

No comments