Breaking News

पछिल्लो २४ घण्टामा एक लाख मानिस उपत्यकाबाट बाहिरिएका छन्

 

पछिल्लो २४ घण्टामा एक लाख मानिस उपत्यकाबाट बाहिरिएका छन्

दशैं मनाउन काठमाडौं उपत्यकाबाट घर जाने यात्रुको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा कुल १ लाख मानिसले उपत्यका छाडेका छन् ।

आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा सार्वजनिक यातायातबाट एक लाख यात्रुले छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले आजसम्म चार लाख ६६ हजार नागरिक दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएको पनि बताए ।

पछिल्लो तीन दिनयता उपत्यकाबाट बाहिरिने क्रम क्रमशः बढेको भट्टले रिपब्लिकलाई जानकारी दिए । अक्टोबर १५ गते घटस्थापनाका दिन ५१ हजार २७९ र भोलिपल्ट ५१ हजार ३ सय ८७ जनाले उपत्यकाबाट प्रस्थान गरेका थिए ।

गत अक्टोबर १७ मा ७३ हजार ८ सय ९६ जनाले उपत्यका छाडेका थिए भने असोज १८ गते ९१ हजार १०२ र असोज १९ गते ९८ हजार ३३२ जनाले उपत्यका छाडेका थिए । आज बिहानसम्म एक लाख मानिस उपत्यकाबाट बाहिरिएको एसएसपी भट्टले जानकारी दिए । निजी सवारी साधनमा जानेको संख्याको हिसाब नभएकाले धेरै नागरिक उपत्यका छाडेर गएको प्रहरीले जनाएको छ ।

No comments